अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)को लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदबाट हटाउन पार्टीको केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ।

जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले भदौ ८ गते पार्टीको केन्द्रीय कार्यसमिति कार्यालयलाई पत्र पठाउँदै काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट हटाउने कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरेका हुन्। सोही दिन संसदीय दलले प्रदेशसभा सचिवालयलाई पनि पत्र पठाउँदै काफ्लेलाई लुम्बिनी प्रदेशसभाबाट निष्कासन गर्न अनुरोध गरेको छ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएपछि जसपा नेपालले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई नयाँ राजनीतिक समीकरणअनुसार निरन्तरता दिने निर्णय गरेको थियो। सोहीअनुसार जसपा नेपालले मुख्यमन्त्री आचार्यलाई समर्थन गर्दै भदौ १ गते प्रदेशसभामा प्रस्तुत विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको थियो।

तर, प्रदेशसभा सदस्य काफ्ले दलको निर्देशनविपरीत विश्वासको मतसम्बन्धी बैठकमा जानाजानी अनुपस्थित भएको संसदीय दलले आरोप लगाएको छ। दलको निर्देशन उल्लङ्घन गरेको विषयमा भदौ २ गते काफ्लेसँग स्पष्टीकरण माग गरिए पनि उनले जवाफ नदिएको पत्रमा उल्लेख छ।

त्यसपछि भदौ ५ गते २४ घण्टे स्पष्टीकरणको मौका दिइए पनि काफ्लेले चित्तबुझ्दो जवाफ नदिएको जसपा नेपाल संसदीय दलले जनाएको छ।

दलको निर्देशन उल्लङ्घन गरी सिङ्गो संसदीय दलको अवहेलना गरेको ठहर गर्दै काफ्लेलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) बमोजिम दलबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट हटाउने निर्णय गरिएको पत्रमा उल्लेख छ।

संसदीय दलले अन्तिम कानुनी कारबाहीका लागि उक्त निर्णय पार्टीको केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको जनाएको छ। साथै, पार्टी केन्द्रबाट अर्को निर्णय नभएसम्म काफ्लेलाई प्रदेशसभा सदस्यका रूपमा कायम नराख्न प्रदेशसभा सचिवालयलाई अनुरोध गरिएको छ।

काफ्ले लुम्बिनी प्रदेशसभामा जसपा नेपालबाट प्रतिनिधित्व गर्ने सांसद हुन्। लुम्बिनी प्रदेशसभामा जसपा नेपालका पाँच जना सदस्य रहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी