बाढीपीडितको उपचारमा संकट, बिजुली र पेट्रोल अभावबीच ‘इमर्जेन्सी मोड’मा अस्पताल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट घाइते भएकाहरूको उपचारका लागि विदुरस्थित चक्रदेवी अस्पतालले ‘इमर्जेन्सी मोड’मा सेवा सञ्चालन गरेको छ। अस्पतालले प्राथमिक उपचारसँगै गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउन थालेको छ।

चक्रदेवी अस्पतालका डा. राकेश परियारका अनुसार बाढी प्रभावित क्षेत्रबाट करिब एक किलोमिटरको दूरीमा रहेको अस्पतालमा उद्धार गरिएका घाइतेलाई उपचारका लागि ल्याइएको छ।

बाढीले नुवाकोटको त्रिशूली बजार, बेत्रावती बजार, ढुंगे बजार र देवीघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। सडक तथा पुल बगाउँदा प्रमुख उपचार केन्द्र त्रिशूली जिल्ला अस्पतालसम्म पुग्ने पहुँचसमेत प्रभावित भएको अस्पतालले जनाएको छ।

विशेषगरी ढुंगे क्षेत्रको पक्की पुल बगाएपछि आवतजावत ठप्प भएको छ। स्थलमार्गबाट गम्भीर बिरामीलाई काठमाडौं पठाउन सक्ने अवस्था नरहेपछि नेपाली सेनासँग समन्वय गरी हेलिकप्टरमार्फत उद्धार गरिएको डा. परियारले बताए।

उनका अनुसार बिहीबारसम्म अस्पताल पुर्‍याइएका २४ जना बिरामीमध्ये ९ जनाको अवस्था गम्भीर रहेको थियो। ती सबैलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने अन्य बिरामीको चक्रदेवी अस्पतालमै उपचार भइरहेको छ।

अहिले पनि घाइतेलाई अस्पताल ल्याउने क्रम जारी रहेको र खोज तथा उद्धार कार्य थप तीव्र बन्दै जाँदा बिरामीको संख्या अझ बढ्न सक्ने अस्पतालको अनुमान छ।

‘अहिले त खोजी तथा उद्धार कार्य बल्ल सुरु भएको छ, अझ ठूलो संख्यामा बिरामी आउन सक्ने सम्भावना देखिएको छ,’ डा. परियारले भने।

१५ शय्याको चक्रदेवी अस्पतालले आवश्यक परे एकैपटक ठूलो संख्यामा बिरामी व्यवस्थापन गर्न ‘ट्रायाज’ प्रणाली अपनाउने तयारी गरेको छ। तर सीमित जनशक्तिका कारण अस्पताललाई उपचार व्यवस्थापनमा चुनौती देखिएको छ।

अस्पतालमा दुई जना चिकित्सकसहित सीमित स्वास्थ्यकर्मीले निरन्तर सेवा दिइरहेका छन्।

यता, बाढीपछि उपचार सेवामा सबैभन्दा ठूलो चुनौती बिजुली आपूर्ति बनेको छ। विद्युत् सेवा अवरुद्ध हुँदा बिरामीको निरन्तर निगरानीका लागि आवश्यक उपकरण सञ्चालन गर्न समस्या भएको डा. परियारले बताए।

अस्पतालले हाल पेट्रोलबाट चल्ने इन्भर्टरको सहारामा उपचार सेवा सञ्चालन गरिरहेको छ। तर पेट्रोलको अभावले यो व्यवस्था लामो समयसम्म टिकाइराख्न चुनौती देखिएको छ।

बाढीले ढुंगे क्षेत्रको पेट्रोल पम्पसमेत बगाएको र बट्टारमा रहेको अर्को पेट्रोल पम्पमा पनि पेट्रोल अभाव भएपछि अस्पतालको उपचार सेवा थप संकटमा परेको छ।

डा. परियारले भने, ‘मुख्य समस्या अहिले बिजुलीको हो। बिजुली नभएपछि बिरामीलाई निरन्तर मोनिटरमा राख्न गाह्रो भएको छ। जेनेरेटर चलाउनका लागि पेट्रोलसमेत सकिएको छ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी