सर्वोच्चले देउवा–खड्काको महाधिवेशन रोक्ने माग अस्वीकार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले महाधिवेशन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार देउवा र खड्काले दिएको पूरक निवेदनमा महाधिवेशन रोक्न माग गरिएको थियो। तर, तीन सदस्यीय पूर्ण इजलासले उक्त मागबमोजिम अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।

प्रवक्ता कोइरालाले भने, ‘पूरक निवेदनमा महाधिवेशन रोक्न आदेश हुनुपर्ने माग थियो। तीन सदस्यीय पूर्ण इजलासले त्यो मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।’

सर्वोच्चको आदेशसँगै नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित दलीय गतिविधि सञ्चालन गर्न पाउने भएको छ। पुनरवलोकनको निवेदनमाथि पछि जस्तोसुकै आदेश आउन सक्ने भए पनि तत्कालका लागि महाधिवेशन रोक्ने अन्तरिम आदेश जारी नभएको सर्वोच्चले स्पष्ट गरेको छ।

देउवा–खड्का पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै आएको छ। थापा नेतृत्वको कांग्रेसले भने आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी तयारी तथा संगठनात्मक गतिविधि अघि बढाइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी