सडक, उद्धार र शव व्यवस्थापनमा तदारुकता देखाउन आङ्देम्बेको सरकारसँग आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले बाढी तथा पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, राहत तथा उद्धार र शव व्यवस्थापनमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन्।

बाढी प्रभावित क्षेत्रमा सडक पिच भए पनि लेदो र माटो थुप्रिएका कारण यातायात ठप्प रहेको उनले बताए। तत्काल स्काभेटर प्रयोग गरेर लेदो पन्छाउन सके सवारीसाधन तथा बेलिब्रिजका सामग्री सम्बन्धित स्थलसम्म पुर्‍याउन सहज हुने उनको भनाइ छ।

यस विषयमा प्रधानमन्त्रीले काम भइरहेको जानकारी दिएको आङ्देम्बेले बताए। पुलहरू क्षतिग्रस्त भएको र प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट उद्धार गर्नसमेत समस्या देखिएकाले विकल्पका रूपमा तत्काल तुइनको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्रीले हालसम्म तीन–चार स्थानमा तुइन जडान भइसकेको र यसलाई थप तीव्रता दिने आश्वासन दिएको उनले जानकारी दिए।

प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा देवीघाटस्थित वृद्धाश्रममा बाढी पस्दा ८० वर्षभन्दा माथिका छ जना ज्येष्ठ नागरिकको मृत्यु भएको दुःखद् जानकारीसमेत आफूले पाएको उनले बताए। उद्धार गरिएका अन्य वृद्धवृद्धालाई हाल आयुर्वेदिक अस्पतालमा राखिएको उनले जानकारी दिए।

विपद् प्रभावित क्षेत्रमा रहेका शव सड्न थालेकाले त्यसबाट फैलिन सक्ने दुर्गन्ध तथा संक्रमणप्रति आङ्देम्बेले चिन्ता व्यक्त गरे।

सेनाको ठूलो हेलिकप्टर सबै ठाउँमा अवतरण गर्न नसक्ने र सानो हेलिकप्टरले एकपटकमा पाँच–छ जनाभन्दा बढीलाई उद्धार गर्न नसक्ने अवस्था रहेको उनले बताए।

“त्यसैले जहाँ पुलहरू छैनन्, त्यहाँ तत्काल तुइन राख्न मैले सुझाव दिएको छु,” उनले भने, “मैले त्यहाँका सुरक्षाकर्मी र स्थानीयलाई दुर्गन्धका कारण स्वास्थ्यमा आउन सक्ने जोखिमबारे सचेत गराउँदै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छु।”

शव व्यवस्थापनमा ढिलाइ हुँदा अर्को गम्भीर समस्या निम्तिन सक्ने चेतावनीसमेत उनले दिए।

शव व्यवस्थापनका विषयमा प्रधानमन्त्रीले विशेष ब्यागको व्यवस्था गरिएको र उचित तापक्रममा शव सुरक्षित राखिने वा डीएनए परीक्षणका लागि नमुना संकलन गरी तत्काल खाडलमा पुरिने व्यवस्था मिलाइएको जानकारी दिएको आङ्देम्बेले बताए।

पहिचान खुलेपछि मात्र शव परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको सरकारको भनाइ रहेको उनले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्