काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको यस घडीमा सरकारलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन्।
विपद् व्यवस्थापनमा पार्टीको भूमिका र आगामी कार्ययोजनाबारे कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै थापाले विपद् व्यवस्थापनमा सरकारलाई सहयोग गर्नु आफ्नो पार्टीको कर्तव्य भएको बताए।
उद्धार, राहत तथा पुनःस्थापनामा देखिएका कमजोरीप्रति खबरदारी गर्नु पनि कांग्रेसको दायित्व भएको उनले स्पष्ट पारे। विपद्का बेला सरकारको आलोचना गर्नुभन्दा सहयोग गर्नु प्राथमिकता भए पनि काममा देखिएका कमी–कमजोरी औँल्याउनु पनि सहयोगकै एउटा स्वरूप भएको उनको भनाइ छ।
उनले भने, ‘कहाँ ग्याप छ, कहाँ काम गर्नुपर्ने तर भइरहेको छैन, त्यसबारे औँल्याउने काम पनि हाम्रो हो। यो गर्नु भनेको विपद्का बेला आलोचना गर्नु होइन, विपद्का बेला सहयोग नै पुर्याउनु हो।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयोजना गरेको सर्वदलीय बैठकले सबै राजनीतिक दलबीच संसद्भित्रै साझा संयन्त्र निर्माण गर्ने समझदारी बनेको पनि थापाले बताए। उक्त संयन्त्रलाई तत्काल पूर्णता दिएर काममा लैजान रास्वपा सभापति लामिछानेसँग थप छलफल गर्ने उनले जानकारी दिए।
कांग्रेसले विपद् प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्तालाई परिचालन गरेको उनले बताए। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतकलगायतको टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरिसकेको छ। टोलीले प्रभावित क्षेत्रमा देखिएका समस्या समेटेर प्रधानमन्त्रीलाई नौबुँदे ध्यानाकर्षणपत्रसमेत बुझाएको थापाले बताए।
त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा ‘विपद् समन्वय समिति’ गठन गरिएको छ। समितिले प्रभावित क्षेत्रमा समन्वय तथा राहत–उद्धारका काम अघि बढाइरहेको छ। समितिका सदस्य सचिव माधव थापाले पार्टीका तर्फबाट भइरहेको गतिविधिबारे बैठकमा जानकारी गराएका थिए।
थापाले पार्टीका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नसमेत आह्वान गरेका छन्। कांग्रेसका केन्द्रीय सदस्य, सांसद, निर्वाचित जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका कमिटीले आफ्नो तर्फबाट रकम संकलन गरी एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उनले बताए।
पार्टीका कमिटीमा रहेका सदस्यले पार्टीको आन्तरिक कोषमार्फत रकम जम्मा गर्न र अन्य सहयोगीले सिधै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न उनले आग्रह गरे। राहत संकलनमा दोहोरोपन नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।
सुरुङमा उद्धारका लागि बाह्य मुलुकको सहयोग लिनसमेत थापाले सरकारलाई आग्रह गरेका छन्। नेपालमा उपलब्ध प्राविधिक विज्ञताले मात्र उद्धार सम्भव नहुने जानकारी पाएपछि आफूले परराष्ट्रमन्त्रीसँग सम्पर्क गरी आवश्यक परे बाह्य मुलुकबाट विशेषज्ञ तथा उद्धार सहयोग लिन आग्रह गरेको उनले बताए।
प्रभावित क्षेत्रबाट प्राप्त सूचनालाई सम्बन्धित सरकारी निकायसम्म पुर्याउने र आवश्यक परे सरकारमाथि दबाब सिर्जना गर्ने काम पार्टीले निरन्तर गर्ने थापाले बताए।
नुवाकोट र रसुवाका वडा अध्यक्ष तथा पार्टीका वडा सभापतिसँग प्रत्यक्ष सम्पर्क गरी स्थानीय अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको पनि उनले जानकारी दिए। कांग्रेसका कुनै पनि तहले सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्न निर्देशन दिइएको उनले बताए।
थापाले आफू भोलि पार्टीको विपद् टोलीसहित प्रभावित क्षेत्रमा जानेसमेत जानकारी दिए।





