काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका साथै क्षति पुगेका संरचनाको पुनःस्थापनाका विषयमा समेत छलफल भएको थियो।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन्।





