काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री राहत कोषमा रहेको रकम छिटो प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिएका छन्। जनताले विश्वास गरेर जम्मा गरेको रकमको पूर्ण सदुपयोग हुनुपर्नेमा उनले जोड दिएका छन्।
आज आयोजित एक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले प्रक्रिया धेरै प्रशासनिक बनाउँदा राहत रकम पठाउन ढिलाइ भइरहेको बताए।
उनले प्रभावित क्षेत्रका स्थानीय तहलाई रकम उपलब्ध गराउने क्रममा एउटा निकायबाट अर्को निकायमा प्रक्रिया अघि बढाउँदा ढिलाइ भएको उल्लेख गरे। कानुन र कार्यविधिले मिल्ने विषयमा तत्काल रकम पठाउन उनले आग्रह गरे।
‘प्रभावित क्षेत्रका पालिकालाई रकम दिने कुरामा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकीकरण हुँदा ढिलाइ भएको छ। हामीसँग कार्यविधि छ, संयन्त्र छ। कानूनले नमिल्ने गर्न मिलेन। मिल्ने कुरामा छिटो गरौँ,’ उनले भने।
अर्थमन्त्री वाग्लेले प्रभावित क्षेत्रमा राहत पुग्न नसक्दा राहत कोषमा रकम थुप्रिएको भन्ने जनधारणा बनिरहेको बताए। अर्थ मन्त्रालयको संयन्त्रमार्फत रकम पठाइसकिएको उल्लेख गर्दै उनले राहत कोषबाटै रकम पठाउँदा सरकारप्रति सकारात्मक सन्देश जाने बताए।
‘पब्लिक पर्सेप्सन के छ भने राहत कोषमा पैसा थुप्रिरहेको छ, यहाँ पैसा भएन भन्ने छ। हामीले अर्थको संयन्त्रबाट पठाइसकेका छौँ। यसलाई उद्धार कोषबाटै पठाउँदा राम्रो सन्देश जान्छ,’ उनले भने।
जनताले सरकारमाथि विश्वास गरेर राहत कोषमा रकम जम्मा गरेको भन्दै वाग्लेले रकम दुरुपयोग नहुने र सम्बन्धित ठाउँमा पुग्ने विश्वास दिलाउनुपर्ने बताए।
रकम निकासाका विषयमा आजै आवश्यक काम अघि बढाउन अर्थमन्त्री वाग्लेले मुख्य सचिवलाई निर्देशनसमेत दिएका छन्।





