१७ भदौ, काठमाडौं । प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवामा आएको विनाशकारी बाढीको समस्या समाधानका लागि जनपरिचालन आवश्यक रहेको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले महाविपत्तिको सामना गर्न सरकारलाई जनपरिचालन गर्न पटक–पटक ध्यानाकर्षण गराएको बताए।
उनले सेना परिचालन भए पनि जनपरिचालन हुन नसकेको भन्दै त्यसो नगरेसम्म बाढीबाट उत्पन्न समस्याको वास्तविक समाधान कठिन हुने धारणा राखे।
‘सेना परिचालन भयो, जनपरिचालन भएन,’ प्रचण्डले भने, ‘जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान असम्भवजस्तै हुन्छ भनेर पनि मैले भनेँ।’
यो विषय सरकारमा रहेका मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूलाई समेत आफूले जानकारी गराएको उनले बताए।
महाविपत्तिको सामना गर्न तीन तहका सरकार, जनप्रतिनिधि, नागरिक समाज र आमनागरिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्ने भए पनि त्यसअनुसार काम हुन नसकेको प्रचण्डको भनाइ छ।
‘सेना परिचालनसँगै जनपरिचालन जोडिएन भने, केन्द्रीय सरकारसँगै प्रादेशिक र स्थानीय सरकार जोडिएन भने यो समस्याको समाधान कठिन हुन्छ भन्ने कुरा मैले पटक–पटक भनेको थिएँ,’ उनले भने।
प्रचण्डले बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खेलेको भूमिकाको भने प्रशंसा गरे। उद्धार तथा राहतका क्रममा सेनाले जोखिम मोलेर महत्वपूर्ण काम गरेको उनले बताए।
‘प्रधानमन्त्री र मन्त्री सक्रिय भएर जाने–आउनेमा त देखियो। सेनाले गरेको काम पनि देखियो,’ उनले भने, ‘सेनाले धेरै जोखिम उठाएर उद्धारमा, राहतमा खेलेको भूमिका देखियो। उहाँहरूलाई हामी सबैले धन्यवाद नै भनेका छौँ।’





