सुरुङभित्र फसेकाको उद्धारमा ढिलाइ ‘अमानवीय र गम्भीर’ : कांग्रेस नेता आङ्देम्बे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले विपद्पछि अझै ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनका अनुसार अझै पनि ६२ जिल्लाका ३ हजार ९१६ जना नागरिक सम्पर्कविहीन रहेको विवरण आएको छ।

‘खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय छ। अझै पनि ६२ जिल्लाका ३ हजार ९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ,’ उनले भने, ‘समयक्रममा यो अझै बढ्न सक्छ। सुरुङभित्र फसेकाको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो।’

सुरुदेखि नै खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

आङ्देम्बेले सरकारी तथा निजी क्षेत्रका स्रोतसाधन परिचालन गर्नुका साथै आवश्यक परेको अवस्थामा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष जनशक्तिसहितको टोली ल्याएर उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने बताए।

उनले विपद्को यस्तो अवस्थामा उद्धारमा उपलब्ध सबै प्रविधि, जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गर्न सरकारसँग आग्रह गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी