काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बिहीबार भदौ १८ गते दिउँसो १ बजे बस्ने गरी बुधबारको बैठक स्थगित गरेका हुन्।
बुधबारको बैठकले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो।
विशेष प्रस्तावमा बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, बेपत्ता नागरिकको खोजी तथा प्रभावितको पुनःस्थापनाका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीको घटना र त्यसपछि सरकारले चालेका कदमबारे संसद्लाई जानकारी गराएका थिए। उनले बाढीबाट भएको मानवीय क्षति, राहत कोषको अवस्था तथा उद्धारका क्रममा देखिएका प्राविधिक जटिलताबारे सांसदहरूलाई ब्रिफिङ गरेका थिए।
त्यस्तै, बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले बाढीबाट भएको क्षति तथा सरकारको कार्यशैलीबारे आ–आफ्ना धारणा राखेका थिए।
दलका नेताहरूले उद्धार कार्यमा भएको ढिलाइप्रति प्रश्न उठाउँदै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका थिए। विपद्को सामना गर्न राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए।
प्रतिनिधिसभाको अर्को बैठक बिहीबार भदौ १८ गते दिउँसो १ बजे बस्नेछ।





