आङ्देम्बेको सरकारलाई प्रश्न : ‘साथमा छौँ भन्दैमा गलत कामको समर्थन गर्न सकिँदैन’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्का बेला सरकारको साथमा छौँ भन्दैमा सरकारले गर्ने गलत कामलाई समर्थन गर्न नसकिने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले सरकारले राम्रो काम गर्दा आफूहरूले साथ र समर्थन गर्ने, तर कमजोरी देखिए खबरदारी र प्रश्नसमेत उठाउने बताए।

‘बाटो बिराउँछ, खबरदारी र प्रश्न पनि छ। खास सहयोग यही होइन र? प्रलयकारी त्यो बाढी आएको एक साता बितिसक्यो। सबै ठीकठाक भइरहेको छ त? जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ भने कर्तव्यबाट विमुख रहेको ठहर्छ,’ उनले भने, ‘त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो।’

सरकारलाई कमजोर बनाउन नभई प्रभावकारी बनाउन आफूहरूले प्रश्न उठाइरहेको उनको भनाइ छ।

‘सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन, प्राण बचाउने समय हो। नागरिकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोला,’ उनले भने।

आङ्देम्बेले अहिले सबैभन्दा बढी खड्किएको विषय खोज तथा उद्धार रहेको बताए। विशेषगरी सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको उनको भनाइ छ।

‘सरकार फिल्डमा होइन, फेसबुकमा देखियो’

आङ्देम्बेले सरकार विपद्को समयमा फिल्डमा प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउँदै सामाजिक सञ्जालमा बढी केन्द्रित भएको टिप्पणी गरे।

उनले सरकार सामाजिक सञ्जालमा अल्झिएको र फिल्डमा भन्दा फेसबुकमा मात्रै देखिएको बताए।

‘मलाई एउटा प्रश्नले घोचिरहेको छ। यदि मन्त्रिपरिषद्का सदस्यहरूकै कोही परिवार वा आफन्तको सदस्य कोही भएको भए, परेको भए मन्त्रीज्यूले प्राविधिक, विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि मन्त्रीले माटो खोस्रेको फोटो, भिडियो, वाह मन्त्रीजी भन्न पोस्ट गरिराख्नुहुन्थ्यो?’ उनले प्रश्न गरे।

उनले विपद्को यस्तो अवस्थामा प्रचारभन्दा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र राहतलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी