काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोटेकोशीमा आएको विपत्ति लगत्तै राष्ट्रिय विपद्लाई एकताका साथ सामना गर्नुपर्छ भन्ने नीतिका साथ पार्टीले सरकारलाई सहयोग गरेको बताएका छन्।
पार्टीको नीति प्रतिष्ठानको बैठकमा बोल्दै सरकारलाई सहयोग गरेपनि गर्ने अवस्थामा कांग्रेस पुगेको बताए।
रसुवाका जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको प्राविधिकले गर्नु पर्ने उद्धारमा खेलबाड गरेर मन्त्रीहरू प्रचारवाजीमा रमाएको टिप्पणी गरे। उद्धारमा ढिलाइ गरेर सरकारले मानवता विरुद्धको अपराध सरहको काम भएको जिकिर गरे।
प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा राहत एवं उद्धार केन्द्रित रहेर स्थानीय जनप्रतिनिधिसँग गरेको छलफल समेत गरेको छ। एउटालाई परेको विपत्तिमा अर्कालाई सघाउने भावनाका साथ स्थानीय तह बीच समन्वय गरेर सहयोग गर्न पनि आग्रह गरे।
छलफलको प्रारम्भमा रसुवा, नुवाकोट र धादिङका पार्टी सभापतिले पीडित र प्रभावित नागरिकले समयमा उद्धार र राहत नपाएको जानकारी गराए।
सङ्घीय सरकारले स्थानीय सरकार र जनप्रतिनिधिलाई बेवास्ता गरेर काम गर्न खोजेका कारण समस्या आएको जानकारी गराए।
छलफलमा शव गृहमा राखेका शवमा पनि लुटपाट भएको, सत्तारूढ दलका नेता कार्यकर्ताले हरेक ठाउँमा पहुँच पाएको तर जनप्रतिनिधिलाई निषेध गरिएकोमा सहभागीहरूले रोष व्यक्त गरे।
छलफलमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान महासचिव वंशलाल तामाङका साथै रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर र भक्तपुरका महानगर, नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा पार्टी प्रतिनिधिहरू सहभागी थिए।





