बाढीपहिरो पीडितलाई सिधै राहत दिने एमालेको निर्णय, ओलीले भने– ‘सरकारी कोषमा ढिलाइ हुन्छ’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोषमार्फत राहत वितरण गर्दा प्रक्रियागत ढिलाइ हुने भएकाले पार्टीले सिधै पीडितसम्म पुग्ने बाटो रोजेको बताए ।

‘हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौँ भनेका होइनौँ । तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पुर्‍याउने कार्यलाई प्राथमिकता दिएका हौँ,’ ओलीले भने ।

उनले उद्धार तथा प्राथमिक राहतका काम सम्पन्न भएपछि अवस्थाअनुसार सरकारी कोषमा समेत सहयोग गर्न सकिने बताए ।

ओलीका अनुसार एमालेले आफ्नै सामर्थ्य र कार्यकर्ता परिचालनमार्फत राहत सङ्कलन तथा वितरण गरिरहेको छ । पार्टीले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखेको भए पनि राहतको कुल परिमाण त्योभन्दा बढी हुने उनले जानकारी दिए ।

अध्यक्ष ओलीले महाविपद्को संवेदनशील घडीमा प्रविधिको दुरुपयोग गर्दै एआई जेनेरेटेड तस्वीरमार्फत सस्तो लोकप्रियता कमाउन खोजिएको भन्दै आलोचना गरे ।

‘यस दुःखद् घडीमा हजारौँको संख्यामा जीवनको क्षति र ठूलो अनुपातमा संरचनाको विनाश भएको छ । यस्तो समयमा हामीले पीडितलाई अधिकतम सेवा पुर्‍याउनेतर्फ लाग्नुपर्छ,’ ओलीले भने, ‘कोही एआईको सहायताले कृत्रिम दृश्यहरू चित्रण गरी आफूलाई जनताको सेवक देखाउन खोजिरहेका छन् । कृत्रिम फोटोहरू खडा गरेर प्रचार गर्ने समय यो होइन ।’

विपद्का बेला प्रचारमुखी नभई सेवामुखी बन्न आग्रह गर्दै ओलीले सबैको ध्यान र सामर्थ्य उद्धार, राहत तथा पुनर्स्थापनामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी