भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार ४ हजार ८९८ जना अझै बेपत्ता छन्।

प्रहरीका अनुसार फेला परेका १ हजार ३४४ शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। यस्तै, ५०१ वटा शवका आंशिक अंग फेला परेका छन्। तीमध्ये अधिकांशको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

बेपत्ता ४ हजार ८९८ जनामध्ये २ हजार ९३० नेपाली र ६१८ विदेशी नागरिक रहेका छन्। नेपाली बेपत्तामध्ये २ हजार ४४८ पुरुष र ४८२ महिला छन्। यस्तै, थप १ हजार ३५० जना बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ६३१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ७ हजार ३८७ नेपाली र १ हजार २४४ विदेशी नागरिक रहेका छन्।

बाढीका कारण विस्थापित भएका ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।

खोज तथा उद्धारका लागि ७ हजार २१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धारका क्रममा ६५ जना प्रहरी कर्मचारीसमेत बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

फेला परेका शवमध्ये १ हजार ३० वटा शव गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डीएनए नमुना संकलनलाई समेत तीव्रता दिइएको छ।

हालसम्म १ हजार २६० मृतक र ९७२ जना मृतकका आफन्त गरी २ हजार २३२ जनाको डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका १ हजार २७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी