‘कतै राहतको अभाव, कतै सामग्री कुहिँदै’ : निरज आचार्य

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको टिप्पणी गरेका छन्। उनले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने र नदीवारि राहत सामग्री कुहिएर गन्हाउने अवस्था देखिएको भन्दै राज्यको विपद् व्यवस्थापन प्रणालीमाथि प्रश्न उठाएका छन्।

आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले लागू गरेको भनिएको ‘एकद्वार प्रणाली’ प्रभावकारी रूपमा कार्यान्वयन भएको हो वा स्थानीय तथा प्रदेश सरकारप्रतिको अविश्वासका कारण सबै जिम्मेवारी नेपाली सेनालाई दिइएको हो भन्ने प्रश्न गरेका छन्।

उनले विपद्का बेला नेपाली सेनालाई उद्धार तथा ज्यान बचाउने कार्यमा केन्द्रित गर्नुपर्नेमा राहत वितरणको जिम्मेवारी दिनु उपयुक्त नभएको बताएका छन्।

“नेपाली सेनाको मुख्य काम विपद्मा ज्यान बचाउने हो कि चामल बाँड्ने?” आचार्यले लेखेका छन्।

आचार्यका अनुसार सेनालाई उद्धार कार्यमा केन्द्रित गराएर राहत वितरणका लागि आम नागरिक, स्थानीय तह र प्रदेश सरकारको समन्वयमा छुट्टै टोली परिचालन गर्न सकिन्थ्यो। यस्तो व्यवस्था गर्न सके राहत सामग्री थन्किएर कुहिने र विपद्पीडित नागरिक राहतको अभावमा बस्नुपर्ने अवस्था कम गर्न सकिने उनको भनाइ छ।

विपद् व्यवस्थापनमा राज्यका विभिन्न निकायलाई स्पष्ट जिम्मेवारी नदिँदा र व्यवस्थित प्रणाली निर्माण गर्न नसक्दा हरेकपटक यस्तै समस्या दोहोरिने उनले बताएका छन्।

“सबैलाई आ–आफ्नो जिम्मेवारी नदिने र सिस्टम नबनाउने हो भने सधैं यस्तै नियति भोग्नुपर्ने हो,” आचार्यले लेखेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी