काठमाडौं । बाग्मती प्रदेश सरकारमा सहभागितालाई लिएर राप्रपाभित्र उत्पन्न भएको किचलो तन्किँदै गएकाे छ । बागमतीका राप्रपा संसदीय दलका प्रमुख सचेतक डम्बर तामाङले पार्टीका ५ सांसदलाई ह्वीप उल्लंघनको आरोपमा २४ घण्टे स्पष्टीकरण सोधका छन् ।
बाग्मतीका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत नहालेका ५ सांसदमाथि संसदीय दलले एक्सन लिएको हो । स्पष्टिकरण सोधिएकामा आाशा लामा, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वर प्रजापति र भुवन पाठक रहेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले गत भदौ ८ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । राप्रपा संसदीय दलले भदौ ७ गते प्रदेश सभाको बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । तर, उल्लिखित ५ जना सांसदहरू भदौ ९ गतेको प्रदेश सभा बैठकमा अनुपस्थित भएर ह्विप उल्लंघन गरेको पत्रमा उल्लेख छ ।
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंलाई पार्टीको विधान तथा संसदीय दलको विधान २०७९ अनुसार किन कारबाही गर्नु नपर्ने हो रु सो सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गरिन्छ ।’
तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ ।
बागमती प्रदेश सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाको संयुक्त गठबन्धन रहेको छ । सरकारमा राप्रपाको तर्फबाट गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति र राजु विष्ट मन्त्रीका रूपमा सहभागी भइसकेका छन् ।
पार्टीको केन्द्रिय नेतृत्वले सरकारमा नजाने र कसैलाई समर्थन पनि नगर्ने निर्णय गरेकोमा संसदीय दलले त्यसको उल्लंघन गर्दै सरकारमा सहभागी भएको हो ।
पार्टी नेतृत्वका निर्णयका पक्षमा उभिएका ५ जनाले मुख्यमन्त्रीलाई विश्वासको मत नहालेका हुन् । यस प्रकरणमा राप्रपा केन्द्रले बाग्मती संसदीय दलका नेता उद्धव थापा र सरकारमा सहभागी ३ मन्त्रीहरूलाई कारवाहीको निर्णय गरेको थियो । त्यसको काउन्टरमा थापाले ५ सांसदलाई कारवाहीको तयारी गरेका हुन् ।





