काठमाडौँ । नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट निर्मित भ्रामक, अनर्गल तथा अपमानजनक पोस्टर सामाजिक सञ्जालमा प्रसारित गरिएको भन्दै आपत्ति जनाएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले डिजिटल प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्वको चरित्र हत्या गर्ने उद्देश्यले यस्ता सामग्री सम्प्रेषण गरिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आचार्यले उक्त घटनालाई पार्टीले ‘अराजनीतिक, अनैतिक र आपराधिक’ क्रियाकलापका रूपमा लिएको बताएका छन् । उनले यस्ता गतिविधिको घोर निन्दा एवं भर्त्सना गर्दै तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन् ।
‘यस्ता अराजक तथा घृणास्पद गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिन्छौँ,’ आचार्यले भनेका छन् ।
एमालेले प्रचलित विद्युतीय कारोबार ऐनविपरीत साइबर अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरो तथा सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले डिजिटल प्रविधिको प्रयोगमार्फत पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने तथा अपमानजनक सामग्री प्रसारण गर्ने कार्यलाई गम्भीर रूपमा लिँदै दोषीमाथि प्रभावकारी कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।





