प्राकृतिक विपद्पछि पूर्वाधार निर्माणको जोखिमबारे गम्भीर समीक्षा आवश्यक : गगन थापा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय मुलुकमा भइरहेका प्राकृतिक विपद् तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले अहिलेको पहिलो प्राथमिकता उद्धार र राहत भए पनि त्यसपछि विपद्का क्रममा देखिएका कमजोरीबारे संसद् र जनस्तरमा निष्पक्ष बहस हुनुपर्ने बताएका हुन् ।

नेपालका विभिन्न स्थानमा निर्माण भइरहेका जलविद्युत् आयोजना तथा सुरुङमा विपद्का बेला हुनसक्ने जोखिम न्यूनीकरण र उद्धार कार्य निकै चुनौतीपूर्ण देखिएको उनको भनाइ थियो ।

त्यसैले पूर्वाधार निर्माण तथा डिजाइनकै चरणमा विपद्को पूर्वतयारी, आवश्यक उद्धार उपकरणको व्यवस्था र नयाँ प्राविधिक ज्ञानको सुनिश्चितता गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यान जानुपर्ने उनले बताए ।

विपद्को कठिन घडीमा नेपाली कांग्रेस सरकार र पीडित नागरिकको साथमा रहेको प्रतिबद्धता पनि सभापति थापाले व्यक्त गरे । पार्टीको आन्तरिक साङ्गठनिक कार्य र राजनीतिक संवादभन्दा अहिले प्राकृतिक विपत्तिमा परेका नागरिकको सेवा प्राथमिकतामा रहेको उनले स्पष्ट पारे ।

पार्टीको महाधिवेशन तथा आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै उनले सङ्कटपूर्ण अवस्थामा राजनीतिक जोडघटाउभन्दा जनसेवा महत्वपूर्ण हुने बताए ।

सभापति थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालले तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित आफ्ना विषय प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझावसमेत दिए ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीजस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

देशभित्र तथा बाहिर रहेका दक्ष जनशक्ति र विज्ञहरूको परामर्शका आधारमा आवश्यक तयारी गरेर मात्रै अन्तर्राष्ट्रिय मञ्चमा नेपालका मुद्दालाई प्रभावकारी रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो ।

बाढी प्रभावित जिल्लामा वडा अधिवेशन सार्न प्रस्ताव

सभापति थापाले भोटेकोशी र त्रिशूली बाढीबाट अति प्रभावित जिल्लाहरूमा तत्काल वडा अधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै अधिवेशनको मिति सार्न प्रस्ताव गरे।

रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित जिल्लामा अहिले राजनीतिक कार्यक्रमभन्दा उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

कांग्रेसले यसअघि भदौ २४ गते वडा अधिवेशन गर्ने गरी निर्वाचन समितिमार्फत कार्यतालिका सार्वजनिक गरेको थियो । तर बाढीबाट प्रभावित जिल्लामा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै ती जिल्लाको वडा अधिवेशनको मिति पुनर्विचार गर्नुपर्ने सभापति थापाको प्रस्ताव छ ।

उनले विपद्को समयमा पार्टीको साङ्गठनिक गतिविधिभन्दा नागरिकको जीवनरक्षा र राहत तथा उद्धार कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्