काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता प्रकाश ज्वालाले जेनजी आन्दोलनको जगमा बनेको सरकारले उक्त आन्दोलनका सम्पूर्ण मागहरू तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्। भदौ २३ गतेको ऐतिहासिक सन्दर्भलाई स्मरण गर्दै ज्वालाले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत आन्दोलनका शहीदहरूको बलिदानको सम्मान गर्न र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन्।
भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध तथा सुशासन, न्याय र अभिव्यक्ति स्वतन्त्रताका लागि नवयुवा पुस्ताले गरेको संघर्षको स्मरण गर्दै उनले जेनजी आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेका छन्।
ज्वालाले आन्दोलनका शहीद परिवारलाई सम्मान र न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्न तथा घाइतेहरूको पीडा सम्बोधन गर्दै निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध मिलाउन जोड दिएका छन्।
यसैगरी, उनले विगतका हिंसात्मक घटनाका दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।
ज्वालाले भनेका छन्, ‘भदौ २३ मा नवयुवाहरूको नरसंहार गर्ने हत्याराहरू र भदौ २४ मा राष्ट्रिय धरोहर खरानी बनाउने तथा देश जलाउने विध्वंसकारीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरियोस् ।’
साथै, आन्दोलनको मर्मअनुसार भ्रष्टाचारीहरूमाथि पनि कडा कदम चाल्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
आजको दिनमा नवयुवा र युवा पुस्ताको भावनाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै प्रवक्ता ज्वालाले राजनीतिलगायत राज्यका विभिन्न क्षेत्रमा युवाहरूको अर्थपूर्ण सहभागिता र नेतृत्व स्थापित गर्नुपर्ने बताए। उनले जेनजी आन्दोलनले स्थापित गरेका सुशासन र पारदर्शिताका मुद्दाहरूलाई कार्यान्वयन गर्दै अघि बढ्न सबैलाई संकल्प गर्न समेत आह्वान गरेका छन्।





