काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन्।
जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद सुनारले सुशासनको पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका शहीदहरूको बलिदानलाई खेर जान नदिने बताएका हुन्।
उनले शहीदका आमाहरूलाई सम्बोधन गर्दै शहीदको मृत्युले नयाँ सुशासनको सुरुवात गरेको भावपूर्ण अभिव्यक्ति दिए।
“आमा, तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मेको छोरो मर्यो, म एक्लो परेँ। होइन आमा, तिम्रो छोरो मरेको होइन। तिम्रो छोरो यो समाजमा, यो देशमा एउटा बिउ बनेर रोपिएको छ। तिम्रो छोरो मर्यो, नयाँ सुशासनको वृक्ष उम्रिएको छ,” उनले भने।
सुनारले शहीदका कारण देशमा परिवर्तनको आधार तयार भएको दाबी गर्दै शहीद परिवारलाई निराश नहुन आग्रह गरे।
“तिम्रो छोरो ढल्यो, यो देश उठ्यो। तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो,” उनले भने।
वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर अघि बढ्ने सांसद सुनारले दाबी गरे। पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भए पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा कारबाही हुने उनको भनाइ छ।
उनले शहीदका परिवार, घाइते तथा जेनजी आन्दोलनका मागहरू पूरा गर्न सरकारलाई आग्रहसमेत गरेका छन्।





