काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी फर्किएका छन् ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्क उद्घाटन गर्न गृहमन्त्री गुरुङ बुधबार केहीबेरअघि सातदोबाटो पुगेका थिए । तर, पार्कमा निर्माण गरिएका शहीदका सालिक उनीहरूको वास्तविक अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि उद्घाटन कार्यक्रम रोकिएको हो ।
उद्घाटनका लागि पुगेका शहीदका आफन्तहरूले सालिक निर्माणमा लापरबाही गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । उनीहरूले निर्माण गरिएका सालिक शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै तत्काल उद्घाटन नगर्न आग्रह गरेका थिए ।

आफन्तहरूले भने, ‘निर्माण गरिएका सालिक शहीदहरूको वास्तविक अनुहारसँग मेल खाँदैनन् । सालिक बनाउन लापरबाही गरिएको छ ।’
सातदोबाटोस्थित पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको सालिक निर्माण गरिएको छ ।
सरकारका अनुसार पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको हो ।





