महाविपद्का बेला पीडित नागरिकमाथि टीकाटिप्पणी र कटाक्ष बन्द गरौँ : रवि लामिछाने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले महाविपद्का बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमा टीकाटिप्पणी र कटाक्ष गर्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै लामिछानेले विपद्मा परेका नागरिकको पीडामाथि तुच्छ टिप्पणी नगर्न आग्रह गरेका हुन् ।

‘यो महाविपद्को समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौँ,’ लामिछानेले भने ।

उनले विपद्मा परेका नागरिकमाथि दुर्व्यवहार गर्ने व्यक्तिमाथि कारबाही गर्न सरकारसँग आग्रहसमेत गरे ।

‘सरकारलाई मेरो स्पष्ट आग्रह छ– पीडामा रहेका नागरिकलाई यस्ता दुर्व्यवहार भएका छन् भने हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति निकाले मात्रै पुग्दैन,’ उनले भने, ‘राज्य साँच्चै निर्मम छ र पीडितको पक्षमा उभिन्छ भन्ने कुरा नागरिकले महसुस गर्नेगरी देखाउने हो । देखाइदिनुहोला ।’

लामिछानेले रास्वपालाई पनि विपद्मा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक आवश्यक नरहेको बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन,’ उनले भने, ‘हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ ।’

पार्टीको कुनै पनि तहका सदस्य वा पदाधिकारी विपद्मा परेका नागरिकलाई सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङमा संलग्न भएको पाइए कारबाही गरिने लामिछानेले चेतावनी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी