मोहन बस्नेतको आरोप– ‘गगन थापा सरकारको भजन गाएर हिँडिरहेका छन्’

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापामाथि सरकारको भजन गाएर हिँडेको आरोप लगाएका छन् ।

भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै बस्नेतले गगन थापाले प्रमुख प्रतिपक्षी दलको भूमिकाअनुसार काम गर्न नसकेको टिप्पणी गरे ।

‘गगन थापाजीले सरकारको भजन गाउनेबाहेक अरू काम केही गरिरहनुभएको छैन । यस्तो पनि प्रमुख प्रतिपक्षी दल हुन सक्छ ? हुतीहाराहरू,’ बस्नेतले भने ।

उनले जेनजी आन्दोलनपछि गगन थापा र विश्वप्रकाश शर्माले गल्ती स्वीकार गर्दै युवाहरूसँग माफी माग्दै हिँडेको भन्दै आलोचना गरे ।

‘जेनजीहरूको घटनापछि सबैभन्दा पहिला नेपालमा सभा गरेर विरोध गर्ने मान्छे यही समूहको कांग्रेस म हुँ । गगनजी र विश्वप्रकाशजीले हामीले गल्ती गर्‍यौँ, हाम्रा नेता मानेनौँ, हामी सुध्रिन्छौँ, सच्चिन्छौँ, माफी देऊ जेनजी हो भन्दै हिँडेको नालायक हुतीहारा हुन्,’ उनले भने ।

बस्नेतले गगन थापाले सरकारको पक्षमा बोल्दै हिँड्नु आफूलाई आश्चर्य नलागेको बताए । उनले थापाले आफूले बिपी कोइरालाको जुत्ता लगाएर हिँडेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसको समेत व्यंग्यात्मक आलोचना गरे ।

‘बिपी कोइरालाको जुत्ता गगन थापाजीले लाएर हिँड्या छु भनेर भन्नुभयो । पत्याउनेले पत्याइदिनु पर्‍यो नि । व्यवहारमा हेर्ने हो भने ६ फुटको नेता हाम्रो बिपी कोइराला, ५ फुट ४ इन्चको गगनजीलाई त्यो जुत्ता मिल्छ ? ठिक हुन्छ ? हावा कुरा हो,’ बस्नेतले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी