काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि आफूहरूको आधाभन्दा बढी जित भइसकेको दाबी गरेका छन् ।
भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे । उनले पार्टी सभापति गगन थापा समूहले आफूहरूलाई आधिकारिकता नदिन सर्वोच्चमा दबाब दिइरहेको दाबीसमेत गरे ।
‘हामीले सर्वोच्चमा मुद्दा हाल्यौँ । चुनाव भइसक्यो, के गर्ने ? भन्यो । हामी पुनरावलोकनमा गयौँ । पुनरावलोकनले निस्सा दियो हामीलाई । निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यो,’ देउवाले भने ।
जतिसुकै षड्यन्त्र भए पनि नेपाली कांग्रेसको आधिकारिकता आफूहरूले पाउने देउवाले दाबी गरे । उनले रुख चिह्न र चारतारे झन्डा आफूहरूले नै पाउने बताए ।
‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर के गरेर हुन्छ, कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्न कोसिस भइराखेको छ । तर हामी कुनै हालतमा मान्दैनौँ । रुख चिह्न, चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेछौँ,’ उनले भने ।
देउवाले गगन थापालाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नभएको जिकिरसमेत गरे ।
उनका अनुसार विशेष महाधिवेशन बोलाउनुअघि सहभागी हुने प्रतिनिधिको सनाखत हुनुपर्ने व्यवस्था छ । आफू पार्टी सभापति हुँदाहुँदै आफ्नो जानकारीबिना विशेष महाधिवेशन बोलाइएको भन्दै उनले आपत्ति जनाए ।
‘गगन थापाजीले विशेष अधिवेशन बोलाउनुपर्यो भन्नुभयो । मैले विशेष अधिवेशन बोलाउन पाउँछ, अधिकार छ पार्टीको । त्यसका लागि को–को भाग लिने हो, सनाखत हुनुपर्यो । बिना सनाखत गर्न पाइन्छ ?’ देउवाले प्रश्न गरे ।
गगन थापाले अचानक विशेष महाधिवेशन बोलाएकाले आफूहरूलाई स्वीकार्य नहुने देउवाले बताए ।
‘मैले भन्दा गगनले हुन्छ दाइ, विचार गर्छु दाइ भनेका थिए । अचानक बोलाइदिए । खल्तीबाट बोलाएर हुन्छ ?’ उनले प्रश्न गरे ।





