काठमाडौं, २५ भदौ । प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेकी छन्।
उपसभामुख रुबीले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिदिन संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन्।
बाढीका कारण अप्ठ्यारोमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको उनको सचिवालयले जनाएको छ।





