२५ भदौ, काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई कारबाही गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आग्रह गरेका छन् ।
राष्ट्रिय सभाले कानुन निर्माणमा अवरोध गरेको भन्ने कानुन मन्त्रीको अभिव्यक्ति भ्रमपूर्ण रहेको र रास्वपाले भ्रम छर्ने नेता-कार्यकर्तालाई कारबाही गर्ने भनेको स्मरण गराउँदै विपक्षी दलका सांसदहरूले यो विषय उठाएका हुन् । रास्वपा सभापति रवि लामिछानेले हिजोमात्रै पार्टीका नेता–कार्यकर्ताले सामाजिक सञ्जाल वा भाषणमार्फत गलत तथा भ्रामक सूचना सम्प्रेषण गरे कारबाही गर्ने घोषणा गरेका थिए ।
नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले उक्त कुरा स्मरण गराउँदै कानुन मन्त्री गौतमलाई कारबाही गर्न माग गरे । राष्ट्रिय सभाले कुन कानुन र कहिले रोकेको हो ? प्रश्न गर्दै उनले त्यसको विवरण सार्वजनिक गर्न पनि चुनौती दिए । मन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसके पदबाट राजीनामा दिनुपर्ने कर्णको भनाइ छ ।
‘हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीले के भन्नुभयो भने मेरो पार्टीको कुनै पनि नेता कार्यकर्ताले सामाजिक सञ्जाल होस् कि भाषणमा होस्, गलत र भ्रामक समाचार सम्प्रेषण गर्यो भने त्यसलाई पार्टीबाट हामी कारबाही गर्छौँ र साधारण सदस्यताबाट पनि बर्खास्त गर्छौँ भन्नुभयो’, उनले भने, त्यसैक्रममा हाम्रो कानुनमन्त्री सोविता गौतमले राष्ट्रिय सभाबाट कानुन ऐन रोकिन्छ र अवरोध हुन्छन् भन्नुभयो । म- सोध्न चाहन्छु, राष्ट्रिय सभाले कुन दिन कहिले कानुन रोकेको छ ? म माननीय रवि लामिछानेलाई सोध्न चाहन्छु- अब माननीय मन्त्रीजीलाई कारबाही तपाईँले कहिले गर्ने हो ? म सोध्न चाहन्छु र सँगसँगै उहाँले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुहुन्न भने आफ्नो पदबाट राजीनामा देओस् ।’
यस्तै, नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले पनि कानुन मन्त्री गौतमको अभिव्यक्तिप्रति आपत्ति जनाइन् । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको कानुन, प्रतिनिधि सभाबाट आएको विधेयकको प्रतिवेदन र राष्ट्रिय सभाले गरेका कामको सबै विवरण सार्वजनिक गर्न उनले माग गरिन् ।
तथ्यबिना राष्ट्रिय सभालाई दोष लगाएर सरकारको अयोग्यता छोप्न नमिल्ने उल्लेख गर्दै झाँक्रीले गलत सूचना जनतामाझ पुर्याउने मन्त्रीलाई कारबाही गर्नुपर्ने बताइन् । अन्यथा मन्त्री गौतमले राष्ट्रिय सभाबाटै आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक माफी माग्नुपर्ने उनको भनाइ छ । उनले राष्ट्रिय सभा अध्यक्षसँग रुलिङको माग पनि गरिन् ।
‘राष्ट्रिय सभामा सरकारले कति कानुन दर्ता गर्यो, प्रतिनिधि सभाबाट कति कानुन प्रतिवेदनसहित आए र हामीले कति कानुनमा काम गर्यौँ ?’, प्रश्न गर्दै झाँक्रीले भनिन्, ‘त्यसको विवरण राष्ट्रिय सभाले सार्वजनिक गरोस् र यस्तो झुटो खबर जनताको बिचमा पुर्याउने कानुन मन्त्रीलाई सरकारले कारबाही गरोस् । यदि हामीले कानुन रोकेका छौँ भने त्यसका प्रति जनताले दण्डित हामीलाई गर्ने नै छन् ।’
जेनजी दिवसको दिन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो पार्टीको बहुमत नभएको कारण काम गर्न नसकेको अभिव्यक्ति दिएकी थिइन् ।





