काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले सरकारलाई डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुन चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जित–हार भइरहने भन्दै सरकारलाई सधैँका लागि सत्तामा आएको भ्रममा नपर्न आग्रह गरे।
‘सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नुस् । अरुका कुरामा विश्वास लाग्दैन भने तपाईंको कार्यालयको भित्तामा झुण्ड्याइएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूका तस्बिर एकपटक हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त गर्नुहुनेछ,’ उनले भने।
पुनले जेनजी आन्दोलनलाई केवल एउटा घटनाका रूपमा समाप्त गर्ने प्रयास गर्नु ठूलो भूल हुने बताए। युवाहरूले उठाएका रोजगारी, अवसर, पारदर्शिता, जवाफदेहिता र भविष्यसँग जोडिएका प्रश्न अझै समाधान नभएको उनको भनाइ छ।
भदौ २३ र २४ गतेका घटनामा दोषीलाई उपलब्ध प्रमाणका आधारमा कानुनी कारबाही गर्नुपर्ने तर राजनीतिक आस्था, दल वा समूहसँगको आबद्धता तथा सामाजिक पहिचानका आधारमा निर्दोषलाई अपराधी करार गर्न नहुने उनले बताए।
‘दोषीलाई नछोड्नुहोस्, तर निर्दोषलाई पनि नफसाउनुहोस् । यो नै कानुनको शासन हो,’ पुनले भने।
उनले भदौ २३ र २४ गते राज्यका संयन्त्र कहाँ थिए, हिंसा तथा विध्वंसको सूचना हुँदाहुँदै सुरक्षा तयारी किन प्रभावकारी हुन सकेन र सार्वजनिक संरचना तथा निजी सम्पत्तिको सुरक्षा किन हुन सकेन भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताए।
जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा सरकार पक्षधरबाट जेनजी घाइतेमाथि भएको कुटपिट तथा दुर्व्यवहार निन्दनीय रहेको भन्दै पुनले युवाको आवाज, प्रश्न र असन्तुष्टि सुन्न सरकारलाई आग्रह गरे।
उनले देशले अर्को विद्रोह र विध्वंस थेग्न नसक्ने चेतावनी दिँदै सरकारलाई दम्भी र अहंकारी शैली सुधार गर्न तथा सबैको अस्तित्व स्वीकार गर्न आग्रह गरे।
पुनले महँगी, ग्यासको अभाव, बजार अनुगमनको कमजोरी र अर्थतन्त्रका सूचकप्रति पनि सरकारको आलोचना गरे। निजी क्षेत्रलाई डर र धम्कीको वातावरणमा नराखी सहकार्यको हात बढाउनुपर्ने उनको भनाइ छ।
सप्तरीमा पैसाको अभावका कारण संघीय सरकार मातहतको अस्पतालले उपचार नगर्दा सडकपेटीमै शिशु जन्मिएको घटनाको प्रसंग उठाउँदै पुनले सरकारको स्वास्थ्य सेवा र जनताप्रतिको उत्तरदायित्वमाथि प्रश्न उठाए।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सरकारलाई विनम्र बन्न, जनताको प्रश्न सुन्न र जवाफदेही बन्न आग्रह गर्दै डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिकिन्छ भन्ने भ्रमबाट मुक्त हुन पुनः चेतावनी दिए।





