सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय सहमति

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

धनगढी । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि देखिएको बजेट शून्यताको अन्त्य गर्न बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय सहमति जुटेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले प्रदेशको बजेट निर्माण प्रक्रिया शीघ्र अघि बढाउने निर्णय गरेको हो । बैठकमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए ।

प्रदेशमा बजेट शून्यताको अवस्था लामो समयसम्म रहँदा सरकारका नियमित कामकाज, सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिमा प्रत्यक्ष असर पर्नसक्ने भएकाले बजेट निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा दलहरूबीच सहमति भएको हो ।

बैठकले प्रदेशको वर्तमान आर्थिक अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरी बजेट निर्माणको काम तत्काल अघि बढाउने निर्णय गरेको छ ।

सर्वदलीय सहमतिसँगै प्रदेश सरकारलाई बजेट निर्माण तथा त्यसका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । बजेट निर्माणपछि प्रदेश सरकारका नियमित कार्यक्रम तथा विकास निर्माणका कामलाई समेत गति दिने अपेक्षा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्