काठमाडौं । आसिफ शेखको शतक तथा गुल्शन झाको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसामु ३१४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो ।
नेपालका लागि आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए । यो उनको ओडीआई करियरको दोस्रो शतक हो । यस्तै, गुल्शन झाले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन जोडे ।
अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रन बनाए ।
आसिफले पहिलो विकेटका लागि अर्जुन कुमालसँग ९७ रनको साझेदारी गरे । त्यसपछि इशान पाण्डेसँग दोस्रो विकेटका लागि ३६ तथा रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।
यूएईका लागि इबरार अहमदले ४ विकेट लिए । खुजाइमा बिन तनभिरले २ तथा हैदर अली र अदीब उसमानीले १–१ विकेट लिए ।
अब यूएईले ३१४ रनको लक्ष्य पछ्याउनेछ । फाइनल जिते नेपाल एसिया कपका लागि छनोट हुनेछ ।





