‘रानीहार’ र ‘तीन बहिनी’को दबदबा, तीज म्युजिक अवार्डमा ह्याट्रिक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

पाँचौँ म्युजिक खबर तीज म्युजिक अवार्ड सम्पन्न, २२ विधामा कलाकार सम्मानित

काठमाडौं । तीजको संगीत र संस्कृतिको प्रवर्द्धनका लागि आयोजना हुँदै आएको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को पाँचौँ संस्करण भव्य रूपमा सम्पन्न भएको छ।

राजधानीको बानेश्वरस्थित क्रिष्टल पार्टी भेन्युमा आयोजित समारोहमा विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको हो।

अवार्डमा गायिका प्रिती आलेले ‘खाडी जानेलाई बोल’ गीतबाट उत्कृष्ट तीज दोहोरी गायिकाको अवार्ड जितिन् भने गायक खुमन अधिकारी उत्कृष्ट तीज दोहोरी गायक घोषित भए। यही गीतबाट आले र अधिकारी उत्कृष्ट तीज दोहोरी गायक–गायिका बनेका हुन्।

त्यस्तै, ‘तीजको लहर आउँदा बरिलै’ गीतबाट पुजन काफ्ले उत्कृष्ट मौलिक तीज गीत गायिकाको अवार्ड जित्न सफल भइन्।

यस वर्षको अवार्डमा ‘रानीहार’ र ‘तीन बहिनी’ गीतले ह्याट्रिक गरेका छन्। ‘रानीहार’बाट किशोर थापाले सर्वोत्कृष्ट मिक्सिङ, शंकर थापा ‘स्माइल’ले सर्वोत्कृष्ट संगीतकार र संगीता भण्डारीले सर्वोत्कृष्ट तीज गीत गायिका (जुरी) को अवार्ड हात पारिन्।

‘तीन बहिनी’ गीतबाट रामकृष्ण बम मल्लले सर्वोत्कृष्ट तीज दोहोरी संगीत, विष्णु शर्माले सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन तथा आरती परियार, तनुजा शाही र पार्वती आचार्यले इन्करेजमेन्ट अवार्ड प्राप्त गरे।

सर्वोत्कृष्ट तीज गीत संगीत संयोजकमा कृष्ण केसी र सर्वोत्कृष्ट कोरियोग्राफरमा जेरी भण्डारी घोषित भए। ‘छेक्यो बरै बादलुले’ गीतबाट अन्जिता विश्वकर्मा सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा घोषित भइन्।

‘कर्णाली सलल’ गीतबाट नारायणी खत्री उत्कृष्ट तीज गीत भिडियो मोडल महिला तथा ‘कम्मरु भाचौँला’ गीतबाट भुवन के. पोखरेल पुरुषतर्फ उत्कृष्ट मोडल बने। ‘माइतीघरको आँगन’ गीतबाट झरना रिसाल र दिप्सा कार्कीले संयुक्त मोडलको अवार्ड हात पारे।

‘बुलेट बाइक’ गीतबाट पूर्णिमा आचार्य नवमोडल विधामा उत्कृष्ट भइन् भने ‘कर्मै खोटी छ’बाट निशान बानियाँ सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक घोषित भए। ‘साउने झरी’बाट देवराज आचार्य उत्कृष्ट तीज गीत भिडियो छायाँकार बने।

‘यो तीजमा’ गीतबाट **गीता वि.क.**ले अवार्ड हात पारिन् भने ‘नाच छमछम’ गीतबाट रिता बुर्लाकोटी र समीक्षा अधिकारी संयुक्त गायनतर्फ उत्कृष्ट घोषित भए। सर्वोत्कृष्ट तीज दोहोरी शब्दतर्फ ‘यो तीजमा’बाट कृष्ण लामिछानेले अवार्ड जिते।

सर्वोत्कृष्ट मौलिक तीज गीत शब्दतर्फ ‘नाचौँ न छमछमी’बाट सरिता घिमिरे र ‘नाच छमछम’बाट विपिन किरणले अवार्ड हात पारे। ‘तीज आयो’ गीतबाट चाँदनी शाक्य उत्कृष्ट तीज गीत गायिका घोषित भइन्।

डायस्पोरा विधातर्फ ‘नाचौँ न संगिनी’ गीतबाट डा. अनितारा रञ्जितकार उत्कृष्ट तीज गीत डायस्पोरा गीतकार तथा ‘छक्कै परियो’बाट शारदादेवी अधिकारी जुरी अवार्ड विजेता बनिन्।

सर्वोत्कृष्ट तीज गीतको अवार्ड उषा मलाहको ‘चट्टै परेर’ गीतले जित्दा सर्वोत्कृष्ट म्युजिक कम्पनीको अवार्ड ‘छेक्यो बरै बादलुले’ गीतबाट हमाल म्युजिकले प्राप्त गर्‍यो। ‘नौरती फूली’बाट दिपक शर्मा पपुलर संगीतकार अफ द इयर बने।

जुरी अवार्डतर्फ ‘कर्मै खोटी छ’बाट सुनिल केसीले मौलिक तीज गीत शब्द, ‘चरि भए त’बाट राधा हमाल बानियाँले तीज गीत दोहोरी गायिका तथा ‘नाचौँ न छमछमी’बाट विपिन आचार्यले म्युजिक एरेन्जरतर्फको अवार्ड जिते। ‘बुलेट बाइक’बाट आशा बुढाले पब्लिक च्वाइस अवार्ड प्राप्त गरिन्।

इन्करेजमेन्ट अवार्डतर्फ ‘रातो सारी’बाट उमा श्रेष्ठ नवगायिका तथा ‘रेलिमै घुमौँला फिरौँला’बाट रमेशराज भण्डारी संगीतकारतर्फ उत्कृष्ट बने।

अवार्ड समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिलाहरूलाई समेत सम्मान गरिएको थियो। वरिष्ठ गायिकाद्वय यशोदा पराजुलीटिका पुनलाई ‘आर्टिस्ट अफ नेपाल नारी रत्न सम्मान’ प्रदान गरिएको थियो।

त्यस्तै कमला रिसाललाई साहित्य सम्मान, अभिनेत्री न्यान्सी खड्कालाई चलचित्रकर्मी सम्मान, सोजना लोहारलाई कला पत्रकारिता सम्मान, फेसन डिजाइनर काजल शर्मालाई फेसन सम्मान, शितल शर्मा र अनिता कुँवरलाई राष्ट्रिय गायन सम्मान प्रदान गरिएको थियो।

सृष्टि घिमिरेलाई कोरियोग्राफी सम्मान, अभिनेत्री तथा पर्वतारोही छिरिङ शेर्पालाई कला सम्मान, जयन्ता अधिकारी र अन्जु परियारलाई सामाजिक सेवा सम्मान तथा कानुनविद् कमलावलीलाई राष्ट्रिय सेवा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

आर्टिष्ट अफ नेपालको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा सम्पन्न समारोहको प्रमुख आतिथ्यता वरिष्ठ गायिका मिरा राणाले गरेकी थिइन् भने अवार्ड आयोजक समितिकी अध्यक्ष सबिता पोखरेलले सभापतित्व गरेकी थिइन्।

कार्यक्रममा कलाकार, पत्रकार तथा सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रिती आले र खुमन अधिकारीले सांगीतिक प्रस्तुति समेत दिएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी