दक्षिण कोरियाली टोली फिर्ता, चीन र भारत फिल्डमै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२७ भदौ, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोट पुगेका विभिन्न मुलुकका उद्धारकमध्ये कोरियाली टोली अस्ति रसुवाबाट काठमाडौं आएर हिजो स्वदेश फर्केको छ ।

अन्य मुलुकका खोज तथा उद्धार टोलीले नेपाली सुरक्षाकर्मीसँगको सहकार्यमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेकै छन् । भारतीय सेना र नेपाली सेनाको ६४ सदस्यीय संयुक्त टोलीले चिलिमे जलविद्युत् आयोजनाको टनेल तथा आसपासको क्षेत्रमा खोज तथा उद्धार कार्य गरिरहेको छ । टोलीले टनेलभित्र खोजी गर्नुका साथै अवरुद्ध बाटो खुलाउने कामसमेत गरिरहेको सेनाले जनाएको छ ।

चीनबाट आएको नौ सदस्यीय टोली त्रिशुली क्षेत्रमा परिचालित छ। संयुक्त राष्ट्रसंघ (युएन) को टोलीले रसुवाको मैलुङ र बेत्रावती क्षेत्रमा खोजी कार्य जारी राखेको छ । नेपाली सेना र युएनको संयुक्त टोलीले बेत्रावती क्षेत्रमा करिब पाँच सय मीटर दूरीसम्म घरहरूमा खोजतलास गर्दा कुनै व्यक्ति फेला नपरेको जनाएको छ ।

मलेसियाली टोलीका १० जना र नेपाली सेनाको १ जना रहेको टोलीले स्याफ्रुबेसी बजारको बाढी प्रभावित क्षेत्रको करिब दुई किलोमिटर क्षेत्रको नक्सांकन गरेपछि मलेसियालीहरु हिजो त्रिशुलीबाट राजधानी फर्किएका हुन् । संयुक्त अरब इमिरेट्सको टोली पनि बाढी प्रभावित क्षेत्रबाट राजधानी फर्किसकेको छ ।

अष्ट्रेलियाली उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा रसुवागढी जलविद्युत् आयोजनाको टनेल तथा स्याफ्रुबेँसी क्षेत्रमा खोजतलास गरेको छ । माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको क्षेत्रमा समेत नेपाली सेना र अष्ट्रेलियाली टोलीले खोज तथा उद्धार कार्य गरेको बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी