विपद्मा खटिएका सुरक्षाकर्मीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा एक युवक पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं : विपद्को समयमा खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय र राष्ट्रसेवकहरूबारे सामाजिक सञ्जालमार्फत घृणा एवं द्वेष फैलाउने सामग्री प्रसारण गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार रुकुम पश्चिमको आठबिसकोटका २७ वर्षीय जनक परियार पक्राउ परेका हुन्। हाल काठमाडौंको टोखा-८, बानियाटार बस्ने गरेका परियारलाई काठमाडौंको अनामनगरबाट नियन्त्रणमा लिइएको थियो।

विपद् व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवकप्रति नागरिकमा भ्रम तथा द्वेष फैलाउने र सार्वजनिक नैतिकता एवम् शिष्टाचार विरुद्धका सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण गरेको उनीमाथि आरोप छ। परियारमाथि विद्युतीय कारोबार ऐन बमोजिमको कसुरमा अनुसन्धान अघि बढाएको थापाले जानकारी दिए।

यसअघि पनि सामाजिक सञ्जालमा गलत सूचना, अफवाह र धार्मिक घृणा फैलाएको अभियोगमा पक्राउ परी छुटेको पाइएकाले उनीमाथि थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी