काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेपाल र चीनबीचको सम्बन्ध कार्यनीतिक मात्र नभई दूरगामी महत्वको रणनीतिक सम्बन्ध भएको बताएका छन् ।
काठमाडौँमा आयोजित ‘काष्ठमण्डप संवाद’ को तेस्रो शृङ्खलाको समापन समारोहलाई सम्बोधन गर्दै खनालले दुई देशबीचको सम्बन्धलाई रणनीतिक सम्बन्धको स्तरमा उठाइसकिएको उल्लेख गर्दै यसलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
छिमेकी मुलुक चीन शक्तिशाली भए पनि नेपालले त्यसबाट उठाउनुपर्ने लाभ लिन नसकेको भन्दै उनले दुई देशबीचको सम्बन्धलाई अझ उन्नत बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
नेपाल पाँच हजार वर्ष लामो इतिहास, संस्कृति र सभ्यता बोकेको मुलुक भएकाले आफ्ना ऐतिहासिक विशेषतासँग आजको परिवर्तनलाई जोड्नुपर्ने खनालले बताए ।
छिमेकी चीनको द्रुत विकास, पार्टी निर्माण र सुशासनबाट धेरै कुरा सिक्न सकिने भए पनि चीनले अरूको मोडल नपछ्याई आफ्नै मौलिकतामा अघि बढ्न सिकाएको उनको भनाइ थियो ।
दुई देशबीचको व्यावहारिक सम्बन्ध, व्यापार, कनेक्टिभिटी र दिगो विकासका चुनौती सम्बोधन गर्न यस्ता संवाद फलदायी हुने खनालले बताए ।
हालै भोटेकोशी नदीमा आएको बाढीको प्रसङ्ग जोड्दै उनले जलवायु उत्थानशीलता तथा सीमापार विपद् जोखिम न्यूनीकरणलाई नेपाल–चीन दीर्घकालीन सहकार्यको मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिए ।
जनता–जनताबीचको सांस्कृतिक सम्बन्ध र नयाँ पुस्ताका युवाबीचको सहकार्यले मात्र द्विपक्षीय सम्बन्धलाई भविष्यमा अझ प्रगाढ बनाउन सक्ने उनले धारणा राखे ।
दुई दिनसम्म चलेको संवादमा नेपाल र चीनका विज्ञ, प्राध्यापक, कूटनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।





