धनगढी । सुदूरपश्चिमकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी देवी कुँवर चढ्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ।
सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले राज्यमन्त्री कुँवरले प्रयोग गर्ने सुप प्र ०१–००१ झ ०३९७ नम्बरको गाडीलाई पाँच सय रुपैयाँ जरिवाना गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले राज्यमन्त्रीको गाडीलाई जरिवाना गरिएको पुष्टि गरे। उनका अनुसार पहिलो पटक निषेधित समयमा सरकारी गाडी प्रयोग गरेको कसुरमा पाँच सय रुपैयाँ जरिवाना गरिएको हो।
सार्वजनिक बिदाका दिन मन्त्रीसमेत सवार नभएको अवस्थामा चालकले सरकारी गाडी चलाएको पाइएको प्रहरीले जनाएको छ।
यसअघि कैलाली ट्राफिक प्रहरीले सरकारी निवासमै हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत जरिवाना गरेको थियो।




