रसुवा बाढीपीडितलाई नवजागरण युवा समूहको २ लाख ५० हजार बराबरको सहयोग (तस्वीरहरु)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

रसुवा । नवजागरण युवा समूहले रसुवा बाढीपीडितका लागि करिब २ लाख ५० हजार रुपैयाँ बराबरको सहयोग गरेको छ।

समूहका पदाधिकारी, सदस्य तथा अन्य सहयोगीदाताबाट संकलित रकमबाट बाढीपीडित परिवारलाई सहयोग गरिएको समूहले जनाएको छ।

नौकुण्ड गाउँपालिका, रसुवा घर भई हाल गोसाइँकुण्ड गाउँपालिका–धुन्चेमा बस्दै आएका ६ घरपरिवारका ७ जनाको विनाशकारी बाढीमा परी निधन भएपछि उनीहरूसँग काजकिरिया गर्ने खर्चसमेत नभएको अवस्थामा समूहले सहयोग गरेको हो।

परिवारका जिम्मेवार सदस्य नै बाढीमा परेपछि आर्थिक रूपमा समस्यामा परेका परिवारलाई समूहले किरिया खर्चस्वरूप प्रतिपरिवार १५ हजार रुपैयाँ नगदसहित चामल, नुन, तेल, दाल र सिरानीलगायत खाद्य सामग्री प्रदान गरेको समूहका अध्यक्ष सुजन बस्नेतले जानकारी दिए।

यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–१० र १२ स्थायी घर भई कामको सिलसिलामा रसुवामा रहेका दिपेन्द्र गिरी, सन्तोष खत्री, जीवन पुरी र कमल बस्नेतका परिवारलाई पनि सहयोग गरिएको छ। परिवारको मुख्य सदस्य गुमाएको शोकसँगै आगामी दिनमा आइपर्न सक्ने समस्या तथा बालबालिकाको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतिपरिवार २५ हजार रुपैयाँका दरले नगद हस्तान्तरण गरिएको समूहका सचिव सरोज बोहराले बताए।

समूहले आगामी दिनमा पनि आफ्नो क्षमताअनुसार सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

नवजागरण युवा समूहले यसअघि पनि स्थानीय स्तरमा चौतारा साँगाचोकगढी नगरपालिका–१४ का विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सडकबत्ती जडान, वृक्षरोपण तथा विभिन्न बिरामीलाई आर्थिक सहयोगलगायत सामाजिक गतिविधि गर्दै आएको छ।

‘सामाजिक जागरणका लागि युवा एकता’ भन्ने मूल नाराका साथ २०७० सालदेखि सक्रिय समूहमा २५ सदस्य रहेका छन्। समूहको ११ सदस्यीय कार्यसमितिमा हाल एक पद रिक्त रहेको छ।

सुजन बस्नेतको अध्यक्षतामा रहेको कार्यसमितिमा उपाध्यक्ष पद रिक्त छ भने सचिव सरोज बोहरा, सहसचिव विवेक बस्नेत, कोषाध्यक्ष प्रल्हाद बस्नेत तथा सदस्यहरू अन्जन बस्नेत, बलाराम मैनाली, रमेश बानियाँ, सुवास बस्नेत, विजय बस्नेत र मोहित बस्नेत रहेका छन्।

समूहका संस्थापक अध्यक्ष मोहन बस्नेत तथा पूर्वअध्यक्षहरू शहदेव बस्नेत, काजीराम बस्नेत, दीपक बस्नेत, साजन बोहरा, सुमन बस्नेत, रामहरि नेपाल, कमल बस्नेत, दिपेश भण्डारी, मनोज नेपाल, हरिशरण बानियाँ, सबिन बस्नेत, हरि बस्नेत, रामशरण बस्नेत र विष्णु बस्नेत रहेका छन्।

भोटेकोशी बाढिको स्थलगत अवलोकनसमेत गरेका समूहका सदस्यहरूले सबै मिलेर एकताका साथ अघि बढ्ने र एकअर्कालाई सहयोग गर्ने हो भने जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्न सकिने बताएका छन्।

अब राहतका नाममा खाद्यान्न र लत्ताकपडा वितरणमा मात्र सीमित नभई बाढीपीडितको पुनर्वास र बास निर्माणका लागि राज्य तथा सहयोगी निकायले दीर्घकालीन रूपमा सहयोग गर्नुपर्ने समूहका पूर्वअध्यक्ष शहदेव बस्नेतले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी