काठमाडौं । झापाबाट काठमाडौं आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि प्रहरी र उनका समर्थकबीच केहीबेर धकेलाधकेल भएको छ।
प्रसाईं विमानस्थलबाट बाहिरिएपछि त्यहीँ बोल्ने कार्यक्रम राखिएको थियो। तर प्रहरीले विमानस्थल परिसरमा कुनै कार्यक्रम गर्न नमिल्ने भन्दै उनलाई बोल्न रोक्दै घर पठाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार प्रसाईंलाई भक्तपुरस्थित उनको निवास पठाइएको छ।
प्रसाईं झापाको भद्रपुरबाट काठमाडौं फर्किने भएपछि उनका समर्थक तथा युट्युबरहरू विमानस्थलमा पुगेका थिए। प्रहरीले विमानस्थल परिसरमा पत्रकार तथा युट्युबरलाई समेत रोक्न खोजेपछि केहीबेर तनावको अवस्था सिर्जना भएको बताइएको छ।
त्यसक्रममा प्रसाईंले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजी गर्दै आक्रोश व्यक्त गरेका थिए। उनले प्रधानमन्त्री शाहलाई ‘बालेन चोर’ तथा गृहमन्त्री गुरुङलाई ‘टीओबीको दलाल’ भन्दै गालीगलौजसमेत गरेको समाचारमा उल्लेख छ।
प्रसाईंले ‘प्रहरी संसद् भवन र सिंहदरबार जलाउँदा कहाँ थियो ?’ भन्दै प्रश्नसमेत गरेका थिए।
प्रहरी र प्रसाईंका समर्थकबीच घम्साघम्सी भएपछि उनका एक कार्यकर्ता पक्राउ परेको बताइएको छ। प्रसाईं अहिले भक्तपुरस्थित आफ्नै निवासमा रहेको जनाइएको छ।





