रसुवा बाढी प्रभावितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सरकारसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन पुनःस्थापनाका लागि प्रयोग गर्ने तयारी भइरहेको बताए।

उनले बाढी प्रभावित क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय गरी उद्धार तथा व्यवस्थापनको काम गरिएको भन्दै यसले जनप्रतिनिधि र स्थानीयवासीको मनोबल उच्च राख्न सहयोग पुगेको बताए।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो चाँडो पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको उल्लेख गरे। सडक सञ्चालनमा आएपछि प्रभावितलाई पूर्ववत् अवस्थामा फर्किन सहज हुने उनको विश्वास छ।

नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्न सक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने प्रधानमन्त्री शाहले बताए। सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिँदै उनले रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई ध्यान दिएर वैज्ञानिक ढंगले बस्ती व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री शाहले सुरक्षित स्थानमा आवश्यक जग्गा पहिचान गरी संघीय सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे। छलफलले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्नसमेत सहयोग पुगेको उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी