काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले आफूमाथि ज्यादती गरेको आरोप लगाएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्न आफूलाई सरकारले रोक लगाएर ज्यादती गरेको प्रसाईंको भनाइ छ।
विमानस्थलमा पत्रकार सम्मेलन गर्न नदिएपछि प्रसाईंले आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका थिए। त्यसक्रममा उनले जेनजी आन्दोलनका क्रममा संसद्, सिंहदरबारलगायतका भौतिक संरचना जलाउन भएको षड्यन्त्रबारे आफूसँग धेरै भिडियो रहेको दाबी गर्दै ती भिडियो चाँडै सार्वजनिक गर्ने बताए।
‘ममाथि यो सरकारले ज्यादती गरेको छ, यसमा विज्ञहरू बोल्नुपर्छ,’ प्रसाईंले भने, ‘कोही विज्ञहरू अहिले पनि बालेनविना केही हुँदैन भनेजस्तो गर्छन्।’
उनले मुलुकमा सुशासन नभएको र सरकारप्रति विश्वासको वातावरण नरहेको दाबी गर्दै लगानीकर्ताहरू नेपाल आउन छाडेको बताए।
प्रसाईंले अहिलेको प्राथमिकता राष्ट्र जोगाउनु रहेको भन्दै त्यसका लागि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने धारणा राखे।
प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङप्रति आफूलाई व्यक्तिगत रिस नभएको भन्दै उनले उनीहरूले राम्रोसँग काम गरे आफूले विरोध नगर्ने बताए।





