बाढीले बगाएर ल्याएका ३० थान ग्यास सिलिण्डर फिर्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

गोरखा : भदौ १० र १४ गतेका त्रिशूलीको बाढीले रसुवा र नुवाकोटबाट बगाएर ल्याएर गोरखातर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका ३० थान सिलिण्डर स्थानीय युवाहरुले फिर्ता गरेका छन्। 

सहिदलखन गाउँपालिका–४ ठेउवाटारका युवाहरुले त्रिशूली किनारबाट संकलन गरेका सिलिण्डरहरु वडाअध्यक्ष र प्रहरी चौकी रागिनासको रोहबरमा फिर्ता गरेका हुन्। फिर्ता गरिएका सिलिण्डरहरु ठेउवाटारको एक घरमा सुरक्षित राखिएको वडाअध्यक्ष यमबहादुर थापाले जानकारी दिए।

संकलित ३० वटा सिलिण्डरमध्ये १० थान भरिएका र बाँकी सिलिण्डर रित्तो रहेको वडाध्यक्ष थापाले जानकारी दिए। साथै त्रिशूली किनारका युवाहरुले ३ थान अक्सिजन ग्यास सिलिण्डर पनि संकलन गरी फिर्ता गरेका छन्। बाढीले बगाएर ल्याएका ग्यास सिलिण्डर नदी किनारका स्थानीयबासीले संकलन गरेको जानकारी पाएपछि प्रहरी प्रशासनले फिर्ता गर्न माइकिङ गरी अनुरोध गरेको थियो।  संकलन भएका सबै सिलिण्डर नुवाकोटस्थित होल्डिङ सेण्टरमा लगेर हस्तान्तरण गर्ने योजना रहेको वडाअध्यक्ष थापाको भनाइ छ। 

तर जिल्ला प्रशासन कार्यालयले भने यस्ता ग्यास सिलिण्डर धादिङ, गोरखा, तनहँु र चितवन लगायतका विभिन्न जिल्लाहरुमा पनि संकलन भइरहेकाले एउटै मापदण्ड बनाएर फिर्ता गर्ने जनाएको छ। ‘गोरखामा मात्र होइन, अन्य जिल्लाहरुमा पनि यस्ता प्रकृतिका सिलिण्डर संकलन भएका छन्’, गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने, ‘सबैलाई फिर्ता गर्ने कुनै नीति निर्देशन आउला। त्यहीबमोजिम हुने छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्