काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले संसद्मा सांसदहरूको न्यून उपस्थितिप्रति असन्तुष्टि जनाएका छन्।
संसद्जस्तो गरिमामय स्थानमा सांसदहरूको उपस्थिति उत्साहजनक नदेखिनु दुःखद रहेको बताउँदै दुलालले नयाँ कानुन निर्माण र देश विकासको सङ्कल्प बोकेको संसद्मा सांसदहरूको उपस्थिति निराशाजनक भएको टिप्पणी गरे।
‘नयाँ कानुन निर्माण र देश विकासको सङ्कल्प बोकेर आएको संसद्मा माननीयहरूको उपस्थिति देख्दा टीठ लाग्छ,’ दुलालले भने, ‘१८३ सिटको गर्व बोकेको दलका आज ३० जना सदस्य पनि संसद्मा उपस्थित नहुनु र अन्य माननीयहरूको पनि यही खालको उपस्थिति देखिनु निकै दयनीय अवस्था हो।’
उनले यस्तो अवस्थामा आम नागरिक र आफ्ना सहकर्मी सांसदलाई समेत सचेत रहन आह्वान गर्दै सदनको गरिमा र मर्यादा कायम राख्नु सबै सांसदको साझा दायित्व भएको बताए। यसमा सबैभन्दा बढी जिम्मेवारी सरकारको हुने उनको भनाइ छ।
‘हामीले पटक–पटक यो विषय उठाएका छौँ, तर पटक–पटक सत्तापक्षबाट सदनको मर्यादा र गरिमामा आँच आउने कार्य भइरहेको छ,’ उनले भने।
दुलालले प्रजनन स्वास्थ्य तथा आमा र नवजात शिशुको स्वास्थ्य अधिकारसम्बन्धी विभिन्न ऐन तथा नियमले आमाको प्रजनन अधिकार सुनिश्चित गरे पनि त्यसको व्यवहारिक कार्यान्वयन फितलो रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले भदौ २४ गते काठमाडौंको एक अस्पतालमा सुत्केरी महिलाले पैसा नभएकै कारण अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपरेको पीडादायी घटनासमेत स्मरण गरे। स्वास्थ्य सेवामा शुल्क असुली र अनावश्यक प्रक्रियाका कारण नागरिकले समस्या भोग्नुपरेको उनको गुनासो थियो।
त्यस्तै, दुलालले केही समयअघि ‘द ग्रेजोन’ले सार्वजनिक गरेको रिपोर्टमा उल्लेखित नामबारे प्रश्न उठाउँदै सत्तापक्षका केही नेताहरू कुनै अमुक देशबाट प्रशिक्षित भएर सरकारलाई नै प्रभावमा पारेको भन्ने गम्भीर आरोपतर्फ संकेत गरे।
उनले उक्त आरोपबारे सत्यतथ्य छानबिन गरी सदनलाई जानकारी गराउन तथा नागरिकको सार्वभौमसत्तामाथि आँच आउने गतिविधि रोक्न सरकारसँग माग गरेका छन्।




