रवि लामिछानेको सर्वदलीय संयन्त्र बनाउने प्रस्ताव अलपत्र, विपक्षी दलको प्रश्न : ‘सरकारले मानेन कि भन्न जान्नुभएन ?’

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरे पनि प्रक्रिया अघि नबढेको भन्दै विपक्षी दलहरूले सरकारमाथि प्रश्न उठाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका नेताहरूले सत्तारुढ दलका सभापतिले नै गरेको प्रस्ताव सरकारले कार्यान्वयनमा नल्याएको आशंका व्यक्त गरेका हुन्।

सभापति लामिछानेले भोटेकोशी नदीमा बाढी आएलगत्तै भदौ ११ गते बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय संयन्त्र गठनको प्रस्ताव गरेका थिए। उनले भदौ २४ गते प्रतिनिधिसभा बैठकमै समेत यस्तो संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए। तर, अहिलेसम्म त्यसतर्फ प्रक्रिया अघि नबढेको विपक्षी दलहरूको भनाइ छ।

मंगलबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले लामिछानेको प्रस्ताव कार्यान्वयन नभएको विषय उठाए।

‘शक्तिशाली सत्तारुढ दलका सभापतिले संसद्मा सर्वदलीय विशेष समिति निर्माण गरी अन्तर्राष्ट्रिय कूटनीतिक पहल र राष्ट्रिय एकता कायम गरेर भोटेकोशी नदी बाढीबाट प्रभावित क्षेत्रको उद्धारदेखि पुनर्निर्माणसम्मका लागि पहल गर्ने उद्घोष गर्नुभयो, गडगडाहट तालीले हल गुन्जियो,’ दुलालले भने, ‘तर आज त्यो घोषणा गरेको एक हप्ता बितिसकेको छ, शक्तिशाली सभापतिले उद्घोष गर्नुभएको कुरा सरकारले मानेन कि अथवा भन्न जान्नुभएन।’

उनले सर्वदलीय संयन्त्र गठनका लागि सरकारले कुनै पहल नगरेको बताए।

त्यस्तै, नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पनि विपद्पछिको राहत, खोज तथा उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन सर्वदलीय विशेष संसदीय समिति गठन गर्न माग गरिन्।

‘राहत, खोज–उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका काम थप प्रभावकारी बनाउन सहयोग पुग्ने गरी सर्वदलीय विशेष संसदीय समिति गठन गरियोस्,’ उनले भनिन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी