काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ।
नयाँ निर्वाचन निर्देशिकाअनुसार केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ। सभापतिमा उम्मेदवारी दर्ताका लागि १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था पनि निर्देशिकामा समेटिएको छ।
त्यस्तै, उपसभापति र महामन्त्री पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ। सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन ११ हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।
निर्देशिकामा केन्द्रीय सभापतिदेखि तल्लो तहसम्मका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्दा लाग्ने शुल्कसमेत उल्लेख गरिएको छ।





