कृष्णभीरमा नयाँ ट्रयाक तयार, असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। भदौ २८ गतेदेखि परीक्षणका रूपमा सवारीसाधन सञ्चालन भइरहेको उक्त खण्डमा आगामी असोज १ गतेदेखि पूर्ण रूपमा दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते संघीय संसद्मा सम्बोधन गर्दै बाढीका कारण क्षतिग्रस्त कृष्णभीर खण्ड भदौभित्रै सञ्चालनमा ल्याउने बताएका थिए। सोहीअनुसार पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) को सहयोगमा प्राविधिक अध्ययन गरी नयाँ ट्रयाक निर्माणको काम अघि बढाएको थियो।

सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार विज्ञहरूको सुझावका आधारमा कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको हो।

भदौ १९ गतेदेखि रुख कटान सुरु गरी पहाडको करिब ३५ मिटर उचाइ र भित्री भागतर्फ २० मिटर खनेर ट्रयाक निर्माण गरिएको पौडेलले बताए। निर्माणमा प्राविधिकसहित करिब ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म काम गरेका थिए।

काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिएका छन्। अहिले बिहान र बेलुकाको समयमा अत्यावश्यक सवारीसाधनलाई आवतजावत गर्न दिइँदै आएको छ।

हाल नयाँ ट्रयाकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ। भदौ ३१ गतेसम्म ग्राभेलको काम पूरा गरी असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी रहेको पौडेलले बताए।

नयाँ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी