तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग युवराज दुलालको माग

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै दुलालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण केरुङ नाका अवरुद्ध भएकाले वैकल्पिक नाकाका रूपमा रहेको तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताएका हुन्।

तातोपानी नाका लामो समयदेखि बन्द हुँदा दसैँको मुखमा आयात–निर्यात प्रभावित हुनुका साथै बजारमा वस्तुको अभाव र महँगी बढ्ने अवस्था सिर्जना भएको उनले बताए।

दुलालले महँगीको प्रत्यक्ष असर गरिब तथा विपन्न परिवारको दैनिक जीवनमा पर्ने भन्दै तातोपानी नाका अविलम्ब सञ्चालन गर्न सरकारसँग जोडदार माग गरे।

उनका अनुसार कोरला नाकामा चिनियाँ पक्षले मुस्ताङबाहेकका अन्य जिल्लाका चालकलाई प्रवेश अनुमति नदिएको तथा ठूला सवारीसाधन सञ्चालनका लागि पर्याप्त चालक जनशक्ति नभएकाले पनि सहज रूपमा सामान आयात गर्न समस्या भइरहेको छ।

भोटेकोशी नदीको बाढीले सामान बगाउँदा व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको र नाका बन्द हुँदा चाडपर्वका बेला अत्यावश्यक वस्तुको आपूर्तिमा समेत समस्या आउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

दुलालले केरुङ नाका बाढीका कारण अवरुद्ध भएको अवस्थामा सहज यातायात र व्यापार सञ्चालनका लागि तातोपानी नाका महत्वपूर्ण विकल्प भए पनि दुई साताभन्दा बढी समय बितिसक्दा पनि सरकारले प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको बताए।

उनले दसैँ नजिकिँदै गर्दा सामान आयातमा समस्या भए बजारमा वस्तुको अभाव र महँगी थप बढ्न सक्ने भन्दै सरकारको तत्काल ध्यानाकर्षण गराएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी