रविको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै राख्ने निर्णय

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राजनीतिक दलहरूको शीर्ष बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै राख्ने निर्णय गरेको छ । बैठकको निर्णय जानकारी गराउँदै रास्वपा प्रवक्ता जगदीश खरेलले संयन्त्रमा कांग्रेस, एमाले, नेकपा, राप्रपा, श्रम संस्कृति, जसपा नेपाल, जनमत, जनमोर्चालगायतका दल रहने बताए ।

‘बाढी गएकै भोलिपल्टै पार्टी सभापतिज्यूले सर्वदलीय संयन्त्रको बैठक आव्हान गर्नुभएको थियो । दिगो रूपमा समग्र विकास निर्माण र विपद् जोखिम न्यूनीकरणकरलगायतका काम गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै राख्ने निर्णय भएको छ’, खरेलले भने ।

प्रवक्ता खरेलका अनुसार संसद्मा प्राप्त सीट संख्याका आधारमा प्रतिनिधित्व हुने गरी एक साताभित्र सर्वदलीय संसदीय उच्चस्तरीय समिति गठन गर्ने सहमति पनि बैठकमाा जुटेको छ ।

यसका लागि सभामुख तथा संसद्लाई औपचारिक रूपमा अनुरोध गर्ने निर्णय भएको छ ।

‘सर्वदलीय संसदीय उच्चस्तरीय संयन्त्र बनाउने सहमति भएको छ । त्यसलाई सम्बोधन गर्दै एक हप्ताभित्र संसदीय समिति बनाउने । संसदमा प्राप्त सीट संख्याको आधारमा प्रतिनिधित्व गर्ने गरी सभामुखसमक्ष र संसदसमक्ष अनुरोध गरिने छ । संसदभित्रबाट समिति बनाउन दलहरू सबै तयार हुनुभएको छ’, खरेलले सुनाए ।

बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका विषयमा पनि छलफल भएको थियो । विश्व मञ्चमा नेपालको तर्फबाट जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउन नेताहरूले सरकारलाई सुझाएका छन् ।

उनका अनुसार सबै राजनीतिक दल र शीर्ष नेताले लामिछानेको यस पहलका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी