रवि लामिछानेको दाबी : भोटेकोशी बाढीपछि प्रधानमन्त्री बालेन संवेदनशील भएर काम गरिरहेका छन्

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री बालेन शाहले संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन्।

बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले प्रधानमन्त्री शाहले सर्वदलीय बैठकलाई बेवास्ता नगरेको जिकिर गरे।

‘यतिको संवेदनशील अवस्थामा प्रधानमन्त्रीले बैठकको बेवास्ता गर्नुभएको हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘बिल्कुल होइन। स्थानीय तहका राजनीतिज्ञसमेत कुरा गरिरहनुभएको छ। प्रधानमन्त्री निरन्तर छलफलमा हुनुहुन्छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिनुभएको छ। यो उहाँको संवेदनशीलताको ठूलो उदाहरण हो।’

लामिछानेले पार्टी र सरकारबीच कामको स्पष्ट बाँडफाँट गरेर अघि बढिरहेको पनि बताए।

‘अहिले पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट कुरा छ। त्यसको डुप्लिकेसन आवश्यक छैन,’ उनले भने, ‘स्थानीय तहका वडाध्यक्षसँग फोनमा कुरा गर्ने, त्यहाँका पालिकाका जनप्रतिनिधिसँग घन्टौँ कुरा गर्ने काम उहाँले गरिरहनुभएको छ।’

प्रधानमन्त्रीको भूमिकामाथि उठ्ने प्रश्नलाई संकेत गर्दै लामिछानेले यस्तो प्रश्न कार्यकालभरि नै उठिरहने भन्दै त्यसलाई बेवास्ता गर्न आग्रह गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी