प्रधानमन्त्री शाहसँग जापानी राजदूतको भेट- पुनः निर्माणमा सघाउने जापानकाे प्रतिबद्धता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले नेपालका बाढीपीडितप्रति जापानले देखाएको सद्भाव, ऐक्यबद्धता, सहानुभूति तथा समवेदनाका लागि धन्यवाद तथा आभार व्यक्त गरे ।

प्रधानमन्त्री शाहले जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको राहत सामग्री र अनुदान सहायताका लागि पनि धन्यवाद ज्ञापन गरे ।

जापान नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनामा समेत जापानको सहयोगको अपेक्षा व्यक्त गरे ।

भेटका क्रममा राजदूत तोरुले जापान सरकारले नेपालका विपद् प्रभावितको पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालमा बाढी तथा यस्ता विपद्को उच्च जोखिम रहेको उल्लेख गर्दै उनले विपद्का कारण तथा त्यसबाट हुने क्षतिबारे थप वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेकोमा जोड दिए ।

राजदूत तोरुले नेपाल–जापानबीच आपसी सम्बन्धका विविध आयाममा रहिआएको सहकार्यका साथै पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र शिक्षा क्षेत्रको सुधारलगायत विषयमा आफ्ना धारणा राखे । जापान लामो समयदेखि नेपालको विकासको साझेदार रहँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्