रौतहट, १ असोज । मधेश प्रदेश संग जोडिएको भारत बिहार मोतीहारी प्रहरी प्रमुख आईपी एस अफिसर एसपी शवर्ण प्रभातले कडा एक्सन लिएका छन्।
छापामारीका क्रममा बरामद भएको नगद रकम हिनामिना गरेको आरोपमा चार जना प्रहरी जवानलाई सेवाबाट बर्खास्त गरेका छन्।
एसपी स्वर्ण प्रभातले विभागीय कारबाहीपछि प्रहरी जवानहरू सिपाही नम्बर ९४० का सन्तोष कुमार, ६७२ का गौतम यादव, ६३३ का कृष्ण कुमार र १४ का ओमप्रकाशलाई सेवाबाट बर्खास्त गर्ने आदेश जारी गरेका हुन्।
गोविन्दगञ्ज थाना क्षेत्रअन्तर्गत रढिया गाउँमा एक मुद्दाका अभियुक्त चन्दन सिंहको घरमा प्रहरीले छापामारी गरेको थियो। सो क्रममा बरामद भएको एउटा झोलाबाट रकम निकालेर गायब पारेको आरोप ती चार प्रहरी जवानमाथि लागेको थियो।
अनुसन्धानका क्रममा उनीहरूले ३ लाख रुपैयाँ झिकेर प्रहरीको गाडीमा लुकाएको खुलेको थियो। पछि उक्त रकम बरामद गरिएको थियो। त्यसपछि चारै जना प्रहरी जवान र बरामद ३ लाख रुपैयाँको विधिवत् बरामदी मुचुल्का तयार गरिएको थियो।
घटनाबारे साहेबगञ्ज थाना, मुजफ्फरपुरमा काण्ड नम्बर ६९१/२०२५ अन्तर्गत प्राथमिकी दर्ता गरिएको थियो। प्राथमिकीपछि चारै जनालाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको थियो।
आपराधिक मुद्दासँगै प्रहरी विभागले पनि उनीहरूमाथि विभागीय कारबाही अघि बढाएको थियो। विभागीय प्रक्रियाका क्रममा चारै जनासँग स्पष्टीकरण मागिएको थियो। तर उनीहरूले दिएको स्पष्टीकरण सन्तोषजनक नभएको विभागले जनाएको छ।
विभागीय अनुसन्धान पूरा भएपछि एसपी स्वर्ण प्रभातले बिहार सरकारी सेवक नियमावली तथा प्रहरी हस्तकमा प्राप्त अधिकार प्रयोग गर्दै चारै जना प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेका हुन्।
प्रहरी विभागले उक्त कारबाहीलाई संगठनभित्र अनुशासन कायम राख्ने तथा वित्तीय अनियमितताका घटनामा शून्य सहनशीलताको नीतिअनुसार गरिएको कदमका रूपमा लिएको छ।
आपराधिक मुद्दामा पक्राउ परी न्यायिक हिरासतमा पठाइएका चारै जनाको विभागीय प्रक्रिया पनि पूरा भएपछि उनीहरूको प्रहरी सेवा औपचारिक रूपमा समाप्त भएको छ। विभागले प्रहरी सेवामा वित्तीय अनियमितता, भ्रष्टाचार वा अनुशासनहीनता देखिए नियमअनुसार कडा कारबाही हुने स्पष्ट पारेको छ।





