आज संविधान तथा राष्ट्रिय दिवस : संविधान जारी भएको ११ वर्ष पूरा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको छ। २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको स्मरणमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ।

सरकारले संविधान जारी भएको दिन असोज ३ गतेलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। दिवसका अवसरमा हरेक वर्ष काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना हुने गरेको छ।

संविधान दिवसका अवसरमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र तथा सामाजिक संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा समेत संविधान दिवसका कार्यक्रम आयोजना गरिनेछन्।

२०७२ साल असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी भएको घोषणा गरेका थिए।

३५ भाग, ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व र धर्मनिरपेक्षतालगायतका विषयलाई आत्मसात गरेको छ।

संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसमेत लिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्