रवि लामिछाने : संविधानको समीक्षा सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा पिँधमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान एक जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासका आधारमा यसको परिमार्जन र संशोधन हुन सक्ने बताएका हुन्।

उनले भनेका छन्, ‘संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ। तर, अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ।’

लामिछानेले संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गरेका छन्। नेपालको सन्दर्भमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको उनको निष्कर्ष छ।

उनका अनुसार लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता तब मात्र सिद्ध हुन्छ, जब संविधानले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्न सक्छन्।

रास्वपाले सामाजिक लोकतन्त्रमार्फत नागरिकको मुहारमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट लिएको पनि लामिछानेले स्पष्ट पारेका छन्।

विद्यमान बेथिति र कमजोरी सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्न संविधान दिवसको दिन उपयुक्त भएको उनको भनाइ छ।

बलियो राज्यका लागि बलिया संस्थाहरू आवश्यक पर्ने भन्दै लामिछानेले संविधान दिवसले सबै राजनीतिक शक्ति, राज्यका अंग र आमनागरिकलाई आ–आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्